Rule 48
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको काम, कर्तव्य र अधिकार
(१) व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धमा बरिष्ठ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षक वा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क)      रोजगारदाताले नियम ३९, ४०, ४१, ४२ र ४४ बमोजिम पूरा गर्नु पर्ने जिम्मेवारी पूरा गरे, नगरेको सम्बन्धमा समय समयमा जाँच गर्ने,
(ख)     कार्यस्थलमा रहेका बोईलर, प्रेसर भेसलहरु र अन्य प्राणघातक हुन सक्ने खतरनाक मेशिनहरु वर्षको एकपटक जाँच गरी चलाउन हुने भए एक वर्षसम्म सञ्चालनको लागि इजाजत दिने,
(ग)      रोजगारदाताले रोजगारीका लागि प्रयोग गरेको घर, जग्गा, प्लान्टको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जाँच गर्ने, त्यहाँ प्रयोग गरिने तयारी तथा अर्ध तयारी वस्तुहरुको नमूना लिई जाँच्ने,  जाँच्न लगाउने र केही सुधार गर्नुपर्ने भए सो सुधार गर्न व्यवस्थापकलाई आदेश दिने,
(घ)       कार्यस्थल रहेको ठाउँमा स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले कुनै जोखिम  देखिएमा त्यस्तो जोखिम हटाउन तुरुन्त आवश्यक व्यवस्था मिलाउन रोजगारदातालार्इ आदेश दिने ।
(२) प्रतिष्ठानको उत्पादन प्रक्रिया वा सेवा प्रदान गर्न आवश्यक कुनै पदार्थको प्रयोगबाट श्रमिकको स्वास्थ्यमा हानि नोक्सानी पुग्न सक्ने देखिएमा विभाग वा कार्यालयले तोकेको अधिकृतबाट त्यस्तो पदार्थको नमूना सङ्कलन गरी विशेषज्ञबाट परीक्षण गराउन सक्नेछ। त्यस्तो परीक्षण गर्न कुनै शुल्क लाग्ने भएमा त्यस्तो शुल्क रोजगारदाताले व्यहोर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सङ्कलित नमूना परीक्षणबाट त्यस्तो पदार्थले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने प्रमाणित भएमा नेपाल सरकारले त्यस्तो पदार्थको प्रयोग निषेध गर्न निर्देशन दिन सक्नेछ।